Monday, April 27, 2020

कोभिड—लकडाउनमा विद्यालय शिक्षा


प्रस्तोताः बटुकलाल तमाङ,
प्रधानाध्यापक,
अन्नपूर्णा माध्यमिक विद्यालय
भरतपुर २१, पार्वतीपुर
कोभिड १९को महामारीका कारण लकडाउन अवधि बढ्दै गइरहेको छ । शैक्षिक सत्रको सुरुवाती दिनहरु सकिएर अन्य उर्वरशील शैक्षिक समयहरु समेत क्षति हुँदै जान लागेको छ । हालका विद्यालय स्तरका वालवालिकाहरू राष्ट्र निर्माण तथा विकासकालागि भविष्यका सतप्रतिशत जनशक्तिहरु हुन् । उनीहरूको यो सिर्जनात्मक समय खेर जानबाट जोगाउन, राज्यले, स्थानीय निकायले, विद्यालयले अनि आम अभिभावकहरुले आ आफ्नो स्थानबाट परम्परागत शैक्षणिक क्रियाकलाप, फेस टु फेस शिक्षणको विकल्पहरुबारे चिन्तन गरी हुँदासम्मको हदमा वैकल्पिक शैक्षिक कार्यकलापहरु सञ्चालन अनि प्रभावकारी कार्यन्वयन गर्नु पर्दछ । फेस टु फेस कक्षा सञ्चालन गर्दा जस्तो यी वैकल्पिक शैक्षिक कार्यकलापहरु सबै विद्यार्थीहरुलाई समेट्न सक्ने खालको नहुन पनि सक्दछ । तर सबैलाई समेट्न सकिदैन भन्दैमा पहुँचमा भएकालाई समेत बञ्चित गराउनु पनि त उचित हैन । फेस टु फेस कक्षा सञ्चालन गर्न सक्ने अवस्था पनि छैन, अनलाइन तथा डिजिटल अनि भर्चुअल माध्यमहरु सबैको पहुँचमा छैन भने तेस्रो विकल्प के त ? तसर्थ अब नतिजा प्रकाशन पश्चात शैक्षिक कार्यकलापको वैकल्पिक पहलहरु यसरी हुन सक्दछ । प्रभावकारी रूपमा अनुगमन गर्दै यहाँ उल्लेख गरिएका ५ वटै विकल्पहरू सँगसँगै प्रयोगमा ल्याउनु पर्दछ, जसले गर्दा विविध पृष्टभूमि भएको सबै खालका वैयक्तिक बाैध्दिकता भएका विद्यार्थीहरूको पहुँचमा सिकाइको विषयवस्तुहरू सम्प्रेषण गर्न सकिन्छ ।
१) स्थानीय निकायले विषयवस्तुमा दखल भएको र राम्रो शैक्षणिक सीप भएको विषयगत शिक्षकहरु छनौट गर्ने । वहाँहरुलाई मौजुदा पाठ्यक्रम, पाठ्यपुस्तक र ग्रीडलाई आधार मानेर वार्षिक योजना बनाउन लगाउने । हाललाई जेठ १५ अर्थात एक महिनासम्म विद्यालय सहजरुपमा सञ्चालन गर्न सक्ने वातावरण नभएको स्पष्ट भएकोले सो योजना बमोजिम हाललाई १ महिनाको अर्थात पहिलो टर्मकोलागि कन्टेन्ट, मूल्यांकनको रुब्रिक्स सहित वेभसाइट, ब्लग, फेसबुक पेजहरुमा व्यापक शेयर गरी सबै शिक्षक अनि सबै विद्यार्थीहरुको पहुँचमा पु¥याउने । विद्यार्थीमा समेत मूल्यांकन कसरी हुन्छ भन्ने रूब्रिक्स राम्रोसँग जानकारी पुगेको हुनु पर्दछ । एक महिनासम्म विभिन्न ५ वटै माध्यमहरूबाट शैक्षणिक क्रियाकलाप प्रसारण तथा वितरण गरिसके पछि जेठ १५गते अर्थात यस पाठको अन्त्यमा पूर्व निर्धारण गरेको समय तालिका अनुसार स्तरीय प्रश्नपत्र जो सबै कन्टेन्ट कभर हुने गरी, घोकन्ते उत्तर नभई सिर्जनात्मक, व्यक्तिगतरुपमा मौलिक उत्तर दिनु पर्ने खालको प्रश्नहरु, परियोजना कार्यहरु र त्यसको प्रतिवेदन आदिका माध्यमबाट मूल्यांकन गर्ने । विद्यार्थीले घरैमा तयार गरेको उत्तर पुस्तिका र परियोजना कार्यको प्रतिवेदन सम्बन्धित विद्यालयमा सामाजिक दुरीलाई कायम राखी बुझाउन सूचित गराउने । शिक्षकले उक्त असाइनमेन्टको परीक्षण गरी प्राप्तांकको अभिलेख राख्ने ।  सम्भव भएमा उक्त असाइनमेन्टमा पृष्टपोषण समेत लेखी सम्बन्धित विद्यार्थीलाई नै फिर्ता गर्ने । उक्त असाइनमेन्टहरु सम्भव भएमा मोवाइलले फोटो खिचेर सम्बन्धित शिक्षकलाई मेसेन्जरमा पठाउने, जसले गर्दा घरबाट विद्यालयसम्म जानु पर्ने स्थितिबाट जोगिन सकिन्छ । विद्यार्थीहरूले आफ्नो अनुकूलता अनुसारको माध्यमलार्इ रोजेर विषयवस्तु ग्रहण गर्नु पर्नेछ । यसमा अभिभावकको भूमिका गहन हुनेछ । यदि आफ्नो बालबच्चाले पहिलो चारवटै माध्यममा पहुँच भएन भने अभिभावकले शिक्षक वा प्र.अ.सँग फोनसम्पर्क राखी कागजी छापा अर्थात पाँचाैं  माध्यमको पहुँचको लागि अति शीघ्र समन्वय गर्ने । अनि शिक्षक वा प्र.अ.ले स्थानीय निकाय शिक्षा शाखाबाट ती सामाग्री प्राप्त गरी वितरण व्यवस्था मिलाउने ।
२) उक्त कन्टेन्टलाई विद्यार्थीसमक्ष पु¥याउने अर्थात विषयवस्तुको सम्प्रषेण वा शिक्षण प्रस्तुतिको विभिन्न ५ वटा माध्यमहरु देहाय बमोजिम हुन सक्दछ ।
क) लाइभ भर्चुअल कक्षाः विद्यालयगत शिक्षकहरुले जुम क्लाउड मीटिङ एपबाट लाइभ दोहोरो सम्वाद सहितको नियमित कक्षाहरु सञ्चालन गर्ने ।
ख)  रेकर्डेड भिडियो कक्षाः विषयगत विज्ञ शिक्षकहरुले तयार गरेको भिडियो रेकर्डेड कक्षाहरु स्थानीय टी.भी. च्यानलबाट नियमित प्रशारण गर्ने, युटुबमा अपलोड गरी शिक्षकहरु मार्फत विद्यार्थीहरुलाई लिंक शेयर गर्ने ।
ग) रेकर्डेड अडियो कक्षाः विषयगत विज्ञ शिक्षकहरुले तयार गरेको अडियो रेकर्डेड कक्षाहरु स्थानीय एफएम रेडियोहरुबाट नियमित प्रशारण गर्ने, युटुबमा अपलोड गरी शिक्षकहरु मार्फत विद्यार्थीहरुलाई लिंक शेयर गर्ने ।
घ)  ब्लग वा वेभसाइटः विषयगत विज्ञहरुले तयार गरेको नोट्सहरु ब्लग वा वेभसाइटमा अपलोड गरी सो लिंक शिक्षकहरु मार्फत विद्यार्थीहरुमा शेयर गर्ने ।
ङ)  कागजी छापाः विज्ञहरुले तयार गरेको सो एक महिना अवधिको नोट्स छपाइ गरी स्वअध्ययन सामग्रीको रुपमा विद्यार्थीहरु माझ वितरण गर्ने ।
यी सबै खर्चहरुको जिम्मेवारी स्थानीय निकाय र अभिभावकमा रहने छ । एक महिना पछि पनि यही अवस्था रहिरहेमा पुनः यसै बमोजिम दोस्रो चरण सुरु गर्नु पर्दछ । लक डाउन अर्थात यस्तै अवस्था तीन चार महिना नै लम्बिएमा यस वर्षलाई विशेष वर्षको रुपमा पाठ्यक्रममा तोकिएको विषयवस्तुहरु मध्ये केहि प्रतिशतमात्र पढाएर वार्षिक परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने पनि हुन सक्दछ ।

No comments:

Post a Comment